१८ जेठ, काठमाडौं । संघीय निजामती सेवा ऐन लागू भएसँगै सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ ।
लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गरिदै आएको हाल रहेका विविध सेवा अन्तर्गत प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको हो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह रहदै आएपनि ऐन लागू भएपछि ती पदहरु स्वत खारेज हुनेछन् ।
संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति नगर्ने तथा त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुने उल्लेख छ ।
निजामती किताबखानामा अभिलेखमा हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेका छन् ।
ती कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् । उनीहरुले सेवा परिवर्तन गर्न भने पाउने जनाईएको छ ।
अब कम्प्युटर अपरेटर वा सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति नहुने भएपछि राजनीतिक दलका पहुँचवाला नेता, मन्त्री, कार्यालय प्रमुख लगायतलाई आफ्ना मान्छे भर्ना गर्ने र जागिर खुवाउने अवसर प्राप्त भएको सरोकारवालाहरु बताउछन् ।
अहिलेपनि कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, गाडी चालक पदमा करारमा कर्मचारी नियुक्त गर्ने प्रचलन छ ।