विराटनगर, १७ जेठ ।
सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई आज जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । त्यसपछि न्यायाधीश शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गर्नुभएको थियो ।
गत वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत मोरङमा खत्रीलगायतमाथि रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको थियो ।
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । सो घटनामा ६३ जनामाथि मुद्दा दर्ता गरिएकामा खत्रीसमेत गरी ३० जना कारागार चलान भइसकेका छन् । एक जना साधारण तारेखमा र एक जना धरौटीमा रिहा भएका छन् । अब फरार अभियुक्त ३१ जना छन् ।
अदालतको आदेशमा भनिएको छ, ‘निज प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको आधार देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई संगठगित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ को देहायको २ को आधारमा पुर्पक्षाका लाथि थुनामा राख्न नियमानुसाको सिदा खान पाउने गरी अदालती बन्दोबस्ती १२१ नम्बर बमोजिमको थुनुवा पूर्जी दिई कारागार कार्यालय मोरङमा पठाइदिनु भनी कारकार बन्दोबस्ती १२१ बमोजिम यो आदेश गरेको छु ।’
साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्री बिहीबारै मोरङ अदालतमा हाजिर भएका थिए । फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो । खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताएका थिए ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री अभियोग लागेपछि फरार थिए । खत्रीलार्इ पक्राउ गरेमा सुन तस्करीका मालिक र गिरोह नै खुल्ने बयान यसअघि पक्राउ मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ले जिल्ला अदालत मोरङमा बयान दिएका थिए ।
गोरेको बयानपछि विमानस्थलबाट एक किलो सुन तस्करी गराउँदा ५ हजार लिने गरेको अभियोग लागेका खत्रीको खोजी लार्इ सरकारद्वा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल संयोजकत्वमा गठित विशेष टोलीले गरिरहेको थियो ।
खत्री तीन वर्षसम्म निरन्तर विमानस्थलमा कार्यरत रहँदा ठुलो परिमाणमा सुन तस्करी भएको थियो । यसअघि विमानस्थलबाट बरामद भएको ३४ किलो सुन तस्करीमा संलग्नता देखिएर पक्राउ परेका खत्रीले अदालतबााट सफाइ पाएका थिए ।
तर खत्रीकै सेटिङमा विमानस्थलमा भित्रिने तस्करीको सुन बाहिरिने गरेको बयान गोरेसहितका अभियुक्तले दिएपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए। आफ्नै गाडीमा राखेर विमानस्थलबाट बाहिर सुन निकाल्ने गरेको बयान गोरेले दिएका थिए । प्रहरी प्रधान कार्यालयले खत्रीको खोजीलका लागि इन्टरपोलबाट नोटिस पनि जारी गरेको थियो ।
गोरेले मोरङ अदालतमा दिएको बयानमा खत्री नै सुन तस्करीका प्रमुख व्यक्ति भएको र उनको सेटिङमा नेता र प्रहरीका ठुला हाकिम समेत मिलेको बताएका थिए । उनले बयानका क्रममा तस्करीबाट प्राप्त रकम आफुले ‘खाई मासेको’ र आफुसँग एक रूपैयाँसमेत नरहेको बयान दिएका थिए ।