बेइजिङ, १६ जेठ ।
उत्तर कोरियाका एकजना जर्नेल र वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।
आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ताको तयारीका लागी अमेरिका हिडेको योङ सहितको टोलीले आज बेइजिङ पुगेर त्यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेको छ ।
उहाँले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराउनुभएको बताइएको छ ।
चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र पनि हुनुहुन्छ ।
दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले उहाँले चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको जानकारी दिएको छ ।
उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीच हुनलागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीसँग परामर्श गर्नुभएको थियो ।
आजै उक्त टोली अमेरिकाका लागि प्रस्थान गर्ने बताइएको छ ।
प्राप्त समाचारअनुसार उहाँले यस विषयमा चिनियाँ अधिकारीलाई जानकारी गराएर अमेरिकी अधिकारीसँग भेटवार्ताका लागि अमेरिका प्रस्थान गर्नुहुने छ ।
अमेरिकामा रहँदा उहाँले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्नुहुने छ ।
उता आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली अधिकारी चोल अमेरिका आउँदै गरेको बताउनुभएको छ । उहाँले आज ट्वीट गर्दै उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै गरेको र उहाँ बाटोमै रहेको जानकारी दिनुभएको छ ।