काठमाडौँ, १६ जेठ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा आजबाट ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुरु भएको छ ।
महाअभियानको सभामुख कृष्णबहादुर महराले काठमाडौँस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै शुभारम्भ गर्नुभयो ।
सो अवसरमा सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफँैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताउनुभयो ।
नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले योजना कार्यान्वयनमा लागेर अभियान सफल बनाउन सबैमा आग्रह गर्नुभयो ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव सरसफाइको जिम्मा सरकारको मात्र नभई आमनागरिकको पनि भएको उल्लेख गर्दै घर बाहिर फोहर फालेर सरकारलाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले राजधानीका सडकमा कसैले फोहर फालेमा उक्त फोहर काठमाडौँ महानगरपालिकामार्फत सफाइ गरिने र सो कार्यबापतको भुक्तानी फोहर फाल्नेबाट असुल गरिने बताउनु भयो ।
मन्त्रालयले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा अघि बढाएको सरसफाइ महाअभियान निरन्तर जारी रहने र सरसफाइका लागि सातामा एक दिन मन्त्री बस्नेत स्वयं उपस्थित हुने उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।
शंखपार्कबाट सडक छेउको फोहर उठाउँदै शुरु भएको सरसफाइ अभियान विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा सभामुख महरा, वन मन्त्री बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी, महानगरका कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।