१४, जेठ काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक संस्थानको स्थिती समिक्षा सार्वजनिक गरेको छ ।
धेरै नाफा गरेका पाँच संस्थानले यस आर्थिक वर्षमा ३४ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन् । नाफा गर्ने संस्थानको पहिलो सूचिमा रहेको नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले १५ अर्ब ३७ करोड कमाएको छ । यो कूल नाफाको ३६ प्रतिशत हिस्सा हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल आयल निगम लिमिटेडले १० अर्ब ४१ करोड नाफा गरेको छ । यो कुल नाफाको २४ प्रतिशत हिस्सा हो ।
नाफा कमाउने तेस्रो, चौथो र पाँचौ नम्बरमा वित्तिय संस्थाहरु परेका छन् । नेपाल बैंक लिमिटेडले ३ अर्ब ९१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७७ करोड र कृषि विकास बैंकले २ अर्ब ५६ करोड नाफा गरेको जानकारी सार्वजनिक संस्थानको स्थिती समिक्षामा उल्लेख गरेको छ ।
नाफा रहेका पाँच संस्थाले कुल नाफामध्ये ८१ प्रतिशत हिस्सा ओगटेका छन् । बाँकी नाफमा रहेका २१ संस्थानले ८ अर्ब ४३ करोड नाफा गरेका छन् ।
उच्चतम नोक्सानीमा भएका पाँच संस्थानमध्ये जनक शिक्षा सामग्री केन्द्र लिमिटेड अग्रपंक्तिमा रहेको छ । उक्त संस्थानको यस आर्थिक वर्षसम्मको सञ्चित नोक्सानी २ अर्ब ७ करोड ७४ लाख पुगेको छ । समग्र संस्थानको कुल सञ्चालन आयमा यस संस्थानको सञ्चालन आयको अंश एक प्रशिशतभन्दा कम रहेको छ । प्रशासनिक खर्चको अनुपात १२ प्रतिशतभन्दा बढि रहेको छ ।
दुग्ध विकास संस्थानको खुद नोक्सानी समग्र संस्थानको खुद नोक्सानीको १७ प्रतिशत रहेको छ । यसको सञ्चित नोक्सानी ५४ करोड ९९ लाख पुगेको छ । नेपाल खानेपानीको संस्थानमा रहेको नोक्सानी समग्र नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानीको लगभग १७ प्रतिशत रहेको छ । यस आव सम्ममा यसको सञ्चित नोक्सानी १ अर्ब २० करोड ३५ लाख पुगेको छ ।
उच्च नोक्सानमा रहेका पाँच संस्थान
नेपाल औषधी लिमिटेडको सञ्चित नोक्सानी १ अर्ब ४४ करोड ९९ लाख पुगेको छ । त्यस्तै नेपाल ओरिण्ड म्याग्नेसाइट लिमिटेडको कुल सञ्चित नोक्सानी ४ अर्ब ४२ करोड ७२ लाख पुगेको छ । नोक्सानीमा रहेका अरु सात संस्थानको सञ्चित नोक्सानी ४ अर्ब ३० करोड ७ लाख पुगेको छ ।

