१३ जेठ,काठमाडौं ।
महान सहिद कृष्ण सेन ‘ईच्छुक’को १६औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यक्रममार्फत क्रान्तिकारी पत्रकार र साँस्कृतिककर्मीहरुले सेनको हत्यारालाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
स्मृति दिवसको अवसरमा आइतबार बिहान क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम सम्पन्न गर्यो ।
शान्तिबाटिकाबाट शुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै नेपाल पुलिस क्लबअगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले सेनको हत्यारालाई कारवाही गर्न माग गर्दै महान सहिद सेनले जनयुद्धका बेला लिएका सपना र उद्देश्यमाथि जनयुद्धकै नेतृत्वकर्ताबाटबे धोका भएको बताए ।
कोण सभामा क्रान्तिकारी पत्रकार दीपेन्द्र रावलले जनयुद्धका नेतृत्व तह सरकारमा रहँदा पनि सेनको हत्यारालाई कारवाही गर्नुको साटो पुरस्कार गरेको भन्दै सपनालाई एकीकृत जनक्रान्तिले पूरा गर्ने बताए । सेनले लिएका उद्देश्यलाई पूरा गर्न जिम्मेवारी क्रान्तिकारी पत्रकारहरुको काँधमा आएको भन्दै सपना पूरा गर्न निरन्तर कोशिस गर्नुनै सेनप्रति सम्मान हुने बताए ।

त्यस्तै क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवलाले जनयुद्धका बेला जनताको पक्षमा कलम चलाएकै कारण तत्कालीन सरकारले जनताको आवाजलाई दबाउन सरकारले परिवर्तनका पक्षधर क्रान्तिकारी पत्रकार सेनको हत्या गरेको बताए । दोषीलाई कारवाही सरकारसँग माग गरे ।

अर्का वक्ता जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले सेनसँगको सहकार्य स्मरण गराउँदै जनताको पक्षमा पत्रकारिता गरेका र गीत लेखेकै कारण जनविरोधी सरकारले सेनको हत्या गरेको बताए । सेनको हत्या गरेपनि तत्कालीन सामन्ती सरकार जनताको बलसामू केही नलागेर सत्ता छाडेर भाग्न परेको बताए । अहिले ओली सरकारले पनि जनताको पक्षमा कलम चलाउनेमाथि दमन शुरु गरेको हुनाले ओली सरकार पनि छिट्टै समाप्त भएर जाने बताए ।

पत्रकार सेन अन्याय र उत्पीडनका विरुद्ध उठेको जनयुद्धको उद्देश्य र मर्मलाई जनतासामू सरल रुपमा समाचार, गीत, कविताको माध्यमबाट पुर्याउन र बुझाउन सक्ने निडर र एक कर्मठ योद्धको रुपमा नेपाली क्रान्तिमा सम्झिराख्ने व्यक्तित्व रहेको अग्रज पत्रकार तथा साँस्कृतिक स्रष्टाहरुले बताए ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल लुम्बिनीले बुटवलमा, मकवानपुरले हेटांैडामा, ईच्छुक स्मृति पार्क निर्माण समिसितले वालुवाङमा विशेष कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सेनको सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

सेनलाई जनयुद्धले उच्च रुप लिइरहेकै बेला २०५९ साल जेठ ६ गते राजधानीबाट गिरफ्तार गरी भृकुटीमण्डपस्थित तत्कालीन महेन्द्र पुलिस क्लबमा राखेर चरम यातना दिई शाही सरकारले हत्या गरिएको थियो ।