काठमाडौँ, १२ जेठ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतासहितको संविधान लागू भइसकेको भए पनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले प्रशासनिक क्षेत्रमा रहेको संक्रमणकाल असार महिनाभित्र टुंगो लगाउने तथा कर्मचारीको व्यवस्थापन संघीय ढाँचाअनुसार गरिने बताउनु भयो ।
उहाँले राष्ट्रसेवक तथा जनप्रतिनिधिबीचको समन्वय गरेर संघीय शासन सफल पार्ने बताउनुभयो ।
मन्त्री पण्डितले आफूले सम्हालेको मन्त्रालयले सय दिनमा गर्नैपर्ने प्रारम्भिक काम ९० प्रतिशत पूरा गरेको दाबी पनि गर्नुभयो ।
उहाँले नीति तथा कार्यक्रमले सकारात्मक विकासको संकेत गरेको बताउँदै अब प्रस्तुत हुने बजेटले छर्लङ्ग हुने गरी स्पष्ट विकासको खाका आउने र विपक्षीले पनि समर्थन गर्नै अवस्था रहने बताउनुभयो ।
विगतका सरकारहरुले हिम्मतका साथ आफ्नो देशको कुरा अरुसँग राख्न नसकेको आरोप लगाउँदै मन्त्री पण्डितले भने,‘तर अहिलेको हाम्रो सरकारले हिम्मतका साथ कुरा राखेको छ, यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु, अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, जनतालाई सुशासन र समृद्धि दिलाउँछौं।’
मन्त्री पण्डितले आउने असारसम्म दश हजार कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा झिटीगुन्टा बोकेर पठाउने स्पष्ट पार्नुभयो । उहाँले भने,‘दश हजार कर्मचारीहरुलाई अब तोकिएको कार्यक्षेत्रमा पठाउँछु, यदि जान मान्नुभएन भने म कारबाही गर्न म तयार छु, कार्यक्षेत्र जान नमान्ने कर्मचारीहरुलाई विदा गरेर घर पठाईदिन्छु।’