९ जेठ, बिराटनगर । साढे ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ को प्रारम्भिक बयान लिइएको छ ।
जिल्ला अदालत, मोरङमा बुधबार करिब साढे ५ घण्टासम्म भएकाे बयानका क्रममा उनले प्रहरी हिरासतमै आफूमाथि खतरा भएको बताएका थिए । अदालतले जिल्ला प्रहरी कार्यालय, मोरङलाई गोरेको सुरक्षा प्रबन्ध मिलाउन आदेश दिएको छ ।
गोरेले प्रहरी हिरासतमा मानव अधिकार निगरानीको माग गरेका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा मानव अधिकार निगरानीको माग गर्दै निवेदन दिएका हुन् ।
उनले यसअघिका घटनामा पनि केही व्यक्तिको हिरासतमा नै ज्यान गएकाले आफ्नो सुरक्षाको कारण देखाउँदै मानव अधिकारकर्मीको निगरानीको माग गर्दै निवेदन दर्ता गराएको उनका वकिल यमबहादुर मगरले बताउनुभयो । मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिरासतमा निगरानीको व्यवस्था मिलाउन माग गर्दै गोरेका तर्फका वकिल मगर स्वंयमले अदालतमा निवेदन दर्ता गराएका थिए ।
उनको पहिलो दिनको बयान मा लामो अनौपचारिक कुराकानी भएको जिल्ला अदालत, मोरङ स्रोतले बतायाे । ‘उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि क्रमबद्ध रुपमा सोधपुछ भएको छ । उसले सिन्धुली पुग्दासम्मको विवरण बताएका छन् ।’
अदालतका अधिकारीले गोरेले दिएको बयानको ५ पन्ने विवरण उतारेका छन् । गोरेलाई प्रकरणमा यसअघि पक्राउ परेका २८ जनाको बयान पनि पढेर सुनाइएको छ ।
‘उनले प्रकरणका कतिपय कुरा इन्कार गरेका छन् भने कतिपय स्वीकार पनि गरेका छन्’, स्रोत भन्यो, ‘तर, लिखित नआएसम्म धेरै कुरा भन्न सकिँदैन ।’
उनले बयान दिने इजलासमा सीमित मान्छेहरुलाई मात्रै प्रवेश गर्न दिइएको थियो । गोरेका तर्फबाट एक जना वकिल पनि थिए ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । उनको बयान बिहीबार पनि जारी रहनेछ । यसअघि मंगलबार सुन काण्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।उनको बयान बिहीबार पनि जारी रहनेछ ।