काठमाडौं, ९ जेठ ।
गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेपछि त्यसबारेमा धेरै रहस्य बाहिर आउन क्रम सुरु भएको छ ।
३३ किलो सुनकाण्डमा गोरेलाई नै प्रमुख अभियुक्तका रुपमा प्रस्तुत गरिएको थियो । तर, गोरेभन्दा पनि ३३ किलो सुनका मख्य योजनाकारहरू गृहमन्त्रालयले गठन गरेको छानविन समितिभन्दा धेरै माथि रहेको स्रोतले जनाएको छ ।
गोरेले ३३ किलो सुन तस्करीमा को–को थिए त्यसबारेमा मुख खोल्न थालेका छन् । गोरेले मुख खोल्ने र कारबाहीमा पर्ने डरले हाइप्रोफाइल व्यक्तिहरू डराएको स्रोतको भनाइ छ ।
अपराध महाशाखाको टोलीलाई छक्याउँदै भारतको दिल्ली पुगेका थिए । दिल्लीमा बसेर उनले आफ्ना समूहका अन्यलाई प्रहरी र अदालतका गतिविधिबारे सोधपुछ गरिरहेका थिए ।
सानु वनका परिवारलाई विभिन्न माध्यमबाट सोधपुछ गरेर पनि गोरेले प्रहरी र न्यायालयका सूचना लिइरहेका थिए । अदालतमा विपक्षी वकिलका टेलिफोनलाई समेत समितिले सूक्ष्म रूपमा निगरानी गरिरहेको थियोे ।
सात दिनअघि गोरे नयाँ दिल्लीमा लुकेर बसेको सूचना पाएपछि समितिले एक डीएसपीको नेतृत्वमा टोली दिल्ली पठाएको थियो । उक्त टोली दिल्ली पठाएकोबारे समितिका पनि सीमित सदस्य मात्रै जानकार थिए ।
सोमबार दिल्लीको एक होटलमा बसेका गोरेलाई भारतीय प्रहरीकै सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले नियन्त्रण लिई सीधै जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको थियो ।
सोमबार अपराह्नदेखि राति अबेरसम्म गोरेसँग समितिले बयान लियो । बयान सकिएपछि मंगलबार बिहान साढे पाँच बजे गोरेलाई उनी बस्ने डेरा गौरीघाटमा लगिएको थियो । डेरा पुगेपछि पनि गोरेले आफ्नो ज्यान बचाइदिन प्रहरी टोलीलाई अनुनय गरेका थिए ।
मुद्दा चलाउन आन्तरिक कानुनी प्रक्रियाका कारण दिल्लीबाट ल्याइएका गोरेलाई गौरीघाटबाट पक्राउ परेको मुचुल्का तयार गरिएको समितिकै एक सदस्यले बताए । गोरे नियन्त्रणमा लिँदा उनी धेरै हतास र छटपटाहट अवस्थामा रहेको जानकारी ती सदस्यले दिए । गोरेले संयुक्त अरब इमिरेट्समा नजमल जनरल ट्रेनिङ कम्पनी खोलेर सुन नेपालतर्फ तस्करी गर्दै आएको ती सदस्यले बताए ।
गोरेले प्रहरीलाई गिरफ्तारी दिनुअघि भिडियो खिचेर एउटा अनलाइनमा मिडियामा दिएका थिए, जुन मंगलबार मात्रै सार्वजनिक भएको छ । भिडियोमा गोरेले सबै सुन तस्करीमा आफ्नो मात्रै नाम आएको भन्दै अन्यको विवरण आउँदै जाने बताएका छन् ।
शाक्यको हत्या आफूले नचाहँदा नचाहँदै भएको समेत भिडियोमा उल्लेख गरेका छन् । प्रहरीले भिडियोसहितको मोबाइल पनि बरामद गरेको छ ।
गोरे पनि खोजिरहेका थिए– कहाँ छ साढे ३३ किलो सुन ?
मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरे पक्राउसँगै सुन तस्करीका मालिक पत्ता लाग्न सक्छन् तर तस्करी भएका सुन र गायव भएको साढे ३३ किलो सुनको सुराक पत्ता लाग्छ त ? यहि प्रश्नबाट सुरु हुन्छ सुन प्रकरण अनुसन्धान कति सफल र कति विफल हुन्छ भन्ने ।
सनम शाक्य हत्यापछि प्रहरीको संलग्नता, एयरपोर्ट कर्मचारीको सहजीकरण र नेपाली बाटोबाट सुन भारत छिर्ने बयानहरू आएका छन् । त्यसको कठोर तथ्य तस्करी हुने गरेको ‘चिज’ बरामद हुन सकेको छैन ।
सुन बरामद नभई तस्करी भएको भनिएको ३८ क्विन्टल सुनबारे विशेष छानविन समितिले तयार पारेको अभियोगपत्र कसरी प्रमाणित हुनेछ ?
गोरेले पनि साढे ३३ किलो सुन खोज्ने क्रममा सनम शाक्यलाई यातना दिँदा उनको मृत्यु भएको थियो । गोरेले गायब भएको सुन आफु मार्फत आएको स्वीकार गरे पनि विवरणमा आएका अन्य सुन तस्करीमा संलग्नता नभएको बयान दिएका छन् ।
त्यसो भए तस्करीका लागि गोरेलगायतलाई कारबाही होला त ?
अदालतमा अहिले बलियो मुद्दा सनम शाक्यको हत्यामा परेको किटानी जाहेरी हो । जसको थुनछेक बहसमा न्यायाधीश नारायणप्रसाद शर्माले संलग्नता, लाश लुकाउन छिपाउन सहयोग गरेको अभियोगमा दोषी देखेका कारण अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनीसहित प्रहरी अधिकारी र सुन तस्करीमा संलग्न रहेको भनिएका अभियुक्तहरुलाई पनि शाक्य हत्याको प्रत्यक्ष, परोक्ष संलग्नताका आधारमा पुर्पक्षका लागि थुनामा पठाएका छन् ।
तर तस्करीकै अभियोगमा कारबाही हुन सक्छ त ?
कानुनकर्मीका अनुसार सुन फेला नपरेसम्म सुन तस्करी हुन्छ भन्ने ठोस प्रमाण कसरी जुटाउने ? सीआइबीले बेला मौकामा पक्राउ गर्ने गरेका तस्करीका सुनमा पनि मालिक पक्राउ पर्न सकेका छैनन् । भरिया पक्राउ परी पछि छुटेका नजिर टन्नै छन् । यो कर्तव्य ज्यान मुद्दा पनि जोडिएका कारण ६५ जना अदालतको रेकर्डसम्म पुग्यो ।
‘यो असाधारण घटना हो । जेरी जस्तो छ । यसमा हरेक चिजलाई केलाएर सेल बनाएर बेग्लाबेग्लै निकाल्नुपर्ने अवस्था छ’, गोरेलाई सार्वजनिक गर्दै छानविन समितिका संयोजक गृह सह–सचिव इश्वराज पौडेलले भने,‘यसमा हामी अझै अनुसन्धानमा जुटिरहेका छौं ।’
कानुनका नौ सिङ हुन्छन् भनेजस्तो ठोस प्रमाणको आधार नभई तस्करीकै विषयमा कारबाही हुनबाट सबै जोगिन सक्नेछन् । गोरेले बयान फेरेमा अथवा बयानमा सुनबारे र मालिकबारे यथेष्ट जानकारी नदिएको खण्डमा अनुसन्धान निक्कै पेचिलो बन्नेछ । उसको बयानका आधारमा नै प्रहरीले सुन हुनसक्ने सम्भावित ठाउँको पहिचान गर्न सक्छ ।
त्यसो भएन भने ?
त्यसो हुन सकेन भने सुन तस्करीमा संलग्नता हुने मालिकलगायतका भीआइपीको संलग्नता पुष्टि हुन सक्नेछैन । यो प्रकरणमा तीन जनाको ज्यान गइसकेको छ । यो असाधारण प्रकरण र अर्बौंको तस्करी काण्ड भएकाले राज्यसत्तामा प्रभाव पार्नसक्नेहरूकै आवरणको अनुमान यसै पनि गरिएको छ । यसको सूचना गृह मन्त्रालयका अधिकारी, गृहमन्त्री रामबहादुर थापा बादल सम्मलाई छ । तर, ठोस प्रमाण छैन ।
बादलले बेला मौकामा भन्ने गरेका छन्, ‘गोरे अन्तिम मान्छे होइन, उसका पछाडी अन्य तस्कर छन् । सबै पक्राउ पर्छन् ।’ तर गृह स्रोतसाधन र प्रहरीले अहिलेसम्म तस्करीको साढे ३३ किलो सुन फेला पार्न सकेको छैन ।
गोरेले पनि त्यहि सुन खोज्ने क्रममा नै तस्करीमा खटाएका भरिया र कर्मचारीलाई अपहरण गरी सोधपुछ गरेका थिए । गोरेको सोधपुछमा पनि कुनै सुराक नमिलेका कारण यातनाको अन्तिम विन्दुमा शाक्यको मृत्युवरण भएको थियो ।
पक्राउ गरिएका सुन तस्करीमा लगानी गर्ने भनेका भुजुङ गुरुङ, छिरिङ भन्नेले सुन तस्करीमा लामो समयदेखि लागेको बताए पनि पछिल्लो प्रकरणको सुनका बारेमा मुख खोलेका छैनन् ।
सनमकी प्रेमिका भनिएकी निशा सेन ठकुरीको बयानलाई आधार मानेर अघि बढ्ने हो भने तस्करीको सुन लुकाएको ठाउँ फेला पर्नसक्ने आधार छ । तर, गृह प्रशासनले रोशन श्रेष्ठलगायतका नाम लिइएको विषयमा केही अनुसन्धान थालेको छ ? कहाँ छन् तिनीहरू ?
जबसम्म गायब भएको सुन फेला पर्दैन त्यतिबेलासम्म यो मुद्दाले लक्ष्य लिएको ठूला तस्कर पक्राउ गर्ने योजना सफल हुनेमा ठूलो चुनौति देखिन्छ ।
-दैनिक नेपाल