काठमाडौँ, ७ जेठ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेशिन प्रयोग गरिने भएको छ ।
भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम ल्याउन लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १३.५ किलोमिटर सुरुङ खन्न टिबिएम प्रयोग गर्न लागिएको जानकारी दिनुभयो ।
आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको जानकारी दिदै उहाँले टिबिएम प्रयोगमा गर्ने गरी आयोजनाको डिजाइन गर्न परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेका बताउनु भयो ।
खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट स्थानीय धितुङमा रहने विद्युत्गृहमा पानी खसाली विद्युत् उत्पादनका लागि सुरुङ सुरुङ निर्माण गर्नुपर्ने अध्ययनबाट देखिएको छ ।
खोटाङ र ओखलढुंगाको सिमाना भएर बग्ने दूधकोशी नदीमा ८ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्न लागिएको छ ।
कार्यकारी निर्देशक घिसिङका अनुसार सुरुङ बनाएर ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर २०० मेगावाट गरी कूल ८०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी अध्ययन भइरहेको छ ।
परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्ट एसपिए ‘इन एशोसिएसन विथ न्यूजेक’ जापानले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।
कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन अध्यावधिक साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय अध्ययन र ठेक्का कागजात तयार गर्ने छ । कम्पनीसँग सन् २०१६ को मेमा सम्झौता भएको थियो । कम्पनीले ३० महिनामा काम सक्ने गरी सम्झौता गरिएको छ ।
आयोजना प्रमुख वसन्त श्रेष्ठले आयोजनाको बाँध २२० मिटर अग्लो रहने जानकारी दिनुभयो । आयोजनाको जलाशय करीब १९ किलोमिटर फैलने छ ।
आयोजनाबाट वार्षिक रुपमा तीन अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।