सल्यान,जेठ ७ ।
सल्यानमा गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु् भएको छ भने अन्य ४ जना घाइने भएका छन् ।
आज विहान करिब साढे १ बजे बागचौर नगरपालिका –२ चिल्ढालेबाट गर्भवती महिला कल्पना चलाउनेलाई प्रसुती गराउन प्राथमिक स्वास्थ्य केन्द्र थारमारे लैजाने क्रममा एम्बुलेन्स ठाटीखोलाको आग्रीमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा बागचौर नगरपालिका –२ चिल्ढाले का ४४ वर्षीया जानकी बुढाथोकी रहेको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा २९ वर्षीया गर्भवती चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्मरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी रहेका छन् । उनीहरु सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।
गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदीप शर्माले जानकारी दिनुभयो ।