काठमाडौं, जेठ ७ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली मस्यौदा निर्माणमा देखिएको विवाद समाधान स्वरुप सभामुख कृष्ण बहादुर महराले आज प्रमुख दलहरुसँग छलफल गर्ने तयारी गर्नु भएको छ ।
विवाद सल्टाउन समस्या भएपछि सभामुख महराले आज प्रमुख दलहरुसँग समाधानको पहल गर्न लाग्नुभएको हो । सभामुख महराले यसअघि पनि दलीय छलफल गर्नु भए पनि सहमति भने हुन सकेको थिएन ।
तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद निलम्बन हुने कि नहुने भन्ने विषयमा दलहरुबीच अझै सम्म पनि विवाद कायमै रहेको छ ।
यस्तै राष्ट्रिय सभाका ५९ जना सदस्यको एकैपटक गोलाप्रथाबाट पदावधि निक्र्योल गर्ने वा प्रदेशगत आधारमा गर्ने भन्ने विषयमा पनि विवाद कायम छ । एकै पटक गोलाप्रथाबाट पदावधि निक्र्योल गर्नुपर्ने अडान कंग्रेसको छ ।
विवादका कारण गत जेठ २ र ४ गते बसेको प्रतिनिधिसभा बैठकबाट पनि नियमावली पारित हुन सकेन भने राष्ट्रिय सभाको ३ गते बोलाइएको बैठक पनि स्थगित भएको थियो । ४ गते बोलाइएको बैठकमा नियमावलीको विषय कार्यसूचीबाट हटाइएको थियो ।
आज सभामुखले बोलाएको प्रमुख दलहरुको बैठकबाट सहमति नजुटे भोली बस्ने संसद बैठकले नियमावली पारित गर्ने तयारी भएको स्रोतले बताएको छ । यद्यपी कांग्रेसले भने सहमति विपरीत नियमावली पारित भएमा संसद् अवरुद्ध गर्ने जनाएको छ ।