काठमाडाैंकाे सडकः घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने, पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो

काठमाडाैंकाे सडकः घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने, पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो

  • आइतवार, जेष्ठ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

पूर्णप्रसाद मिश्र/काठमाडौँ, ६ जेठ । 

घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ ।

यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको हो । सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक बिस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो ।

अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ । आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउनुहुन्छ । जोरपाटी ओरालोसम्म यो विवाद कायमै छ ।

बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल चुहावट भएर सडकमा फोहर पानी जम्ने गरेको छ । वर्षाद्का समयमा बाढीले बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीय पार्वती तामाङ गुनासो गर्नुहुन्छ ।

वाग्मती पुलबाट थलीसम्मको २ दशमलब ४ किमी सडक विस्तार तीन वर्षमा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ । बज्रगुरु÷च्याङ्मिला÷खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले सुनाउनुभयो ।

मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ । यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन । मूलपानीमा वनको रुखका कारणसमेत काममा ढिलाइ भएको छ । थलीबाट खुलालटारसम्म तीन किमीको खण्डमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउनुहुन्छ । थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन ।

आयोजनाका प्रमुख दीपक केसी प्राधिकरणले सडक अधिकार क्षेत्रको रेखांकन, क्षतिपूर्ति दिएर घरटहरा हटाउने काम नसकेकाले कालोपत्र गर्न नपाएको बताउनुहुन्छ । यसका कारण चाबहिलबाट साँखुसम्म घाम लागेका बेला धुलाम्य र पानी परेका समयमा हिलाम्य हुने गरेको छ । डाँछी तथा ब्रह्मखेल क्षेत्रमा सडकको सीमा विवाद छ । यहाँ पनि विद्युत् र टेलिफोनका तार हटेको छैन ।

खुलालटारबाट सलम्बुटारसम्मको २.४६ किमी क्षेत्रमा ५१ घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिटी÷सुनकोशी÷वल्र्डवाइड जेभीले निर्माण जिम्मेवारी पाएको यो खण्डको इन्द्रायणी र सलम्बुटार क्षेत्रमासमेत सडकको सीमा विवाद छ । विद्युत् र टेलिफोनका पोल एवं तार यो क्षेत्रमा हट्न सकेको छैन ।

लामा÷समानान्तर जेभीले निर्माण गरिरहेको करिब एक किमी साँखु क्षेत्रका केही घरमासमेत अन्तरिम आदेश जारी भएको छ । अन्तिम खण्डको ६०० मिटर क्षेत्रमा बिस्तारका कुनै काम गर्न नदिने भनी स्थानीयवासीले अवरोध गरेका छन् । साँखु क्षेत्रमा पनि विद्युत् र टेलिफोनका पोल एवं तार हटेका छैनन् । स्थानीय हरिराम श्रेष्ठ उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सर्वोच्चमा मुद्दा दिइएको बताउनुहुन्छ । १२.५० किमी सडक बिस्तार गर्न वर्षौं लाग्ने भएको छ । केही खण्डको समय सकेर एक वर्ष थप गरिएको आयोजनाले जनाएको छ ।

सर्वोच्च अदालतले गत असोज १३ गते सडक विस्तार सम्बन्धमा परेका मुद्दाको पैmसला गरे पनि पूर्णपाठ नआउँदा पनि काममा ढिलाइ भएको छ । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थी केही महिनामै पूर्णपाठ दिइने प्रतिबद्धता जनाउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ