बाँके,३ जेष्ठ । एक महिनासम्म चल्ने रमजानको रोजा शुक्रबारबाट सुरु हुने भएको छ । रोजाको अवसरमा तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स नेपालगंजले एक विज्ञप्ती प्रकाशीत गरी एक महिना लामो आस्थाको व्रतमा सबैको स्वस्थता, सहजता र आपसी सद्भाव अभिवृद्धि गर्ने अवसरको रुपमा उपयोग गर्न सकियोस भनी शुभ कामना दिएको छ ।
रमजान अवधिमा मुस्लिम समुदायका अगुवाले नेपाली मुस्लिम समुदायको विकासका विषयमा पनि गम्भीर भएर सोँच्ने प्रयत्न गर्नुका साथै मिहिनेती र इमानदार मुस्लिम समुदायको समग्र विकासका लागि अगुवाले राज्यका निकायलाई झक्झक्याउने र आवश्यक स्रोत, साधन प्राप्त गर्ने भूमिका निर्वाह गर्न तर्फ ध्यान पुर्याउन यस पर्वले सबैलाई प्रेरण प्रदान गरोस भनी बिज्ञप्तीमा थर्ड एलायन्सका प्रमुख आलम खानले उल्लेख गर्नु भएको छ ।
थर्ड एलायन्सले जारी गरेको विज्ञप्तीमा, धार्मिक आस्थाले व्यक्तिलाई इमानदार र प्रतिवद्ध हुन प्रेरित गर्छ । यस्तो प्रेरणाको सदुपयोग गर्ने गरी सबैमा रमजानको शुभकामना व्यक्त गर्दछौं ।जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य गरिएको छ ।
३० दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाँडेका छन् । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दयामाया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानहरूले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।
रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।
यसमा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकालि सक्नुपर्छ ।
रोजाको अवधिमा शारीरिक रूपमा दुब्लाए पनि मानसिक रूपमा निकै गौरवान्वित ठान्ने मुसलमानले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरू पूरा गर्ने अवसर प्राप्त गर्छन् ।