हेटौँडा, २ जेठ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभएको छ ।
आज हेटौँडामा आयोजित भाषा गोष्ठीको उद्घाटन गर्दै उहाँले त्यसका लागि युवा पुस्तालाई जिम्मेवार बनाउन भाषा आयोगले संवैधानिक भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो ।
मुख्यमन्त्री पौडेलले एक समुदायले अर्को समुदायलाई उपेक्षा भावले तिरष्कार गर्न नहुने उल्लेख गर्दै प्रौढ पुस्ताबाट युवापुस्तालाई मातृभाषा, लिपि, कला सांस्कृतिक पक्षलाई उजागर गर्ने अभियान चलाउन स्थानीय निकायका जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाइनुपर्ने बताउनु भयो ।
उहाँले ती भाषा र लिपिलाई भावीपुस्तासम्म हस्तान्तरण गरी एउटा संग्रहालयका रुपमा विकास गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर आगामी वर्ष ०७५÷७६ देखि गुरुयोजना तर्जुमा गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
सो अवसरामा प्रदेश न ३ का सामाजिक विकासमन्त्री युवराज दुलाले विभिन्न भाषाभाषीको लिपि र सांस्कृतिक धरोहरलाई दिगो रुपमा संरक्षण गर्न सरकारको प्रयास मात्र सम्भव नरहने उल्लेख गर्दैै भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठानले उच्चशिक्षा अध्यापनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।