३१ बैशाख,तनहुँ । नेकपा एमालेबाट निर्वाचित तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालले श्रीमान् विदेश भएकी एक महिलालाई बलात्कार गरेका छन् । यही बैशाख २५ गते दिउँसो श्रीमानले पठाएको पैसा बैंकबाट झिकेर फर्कदै गरेकी उनलाई जबरजस्त मोटरसाइकलमा राखेर जंगल लगेका बलात्कार गरेका हुन् ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वजिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।
पीडित महिलाका अनुसार बालीघाट पुलमा भेटेका वडाध्यक्ष कुमालले मोटरसाइकलमा बैंकसम्म पुर्याएका थिए । पैसा झिकेर फर्किने क्रममा महिलालाई जबरजस्ती मोटरसाइकलमा राखेर जंगल पुर्याएका थिए । “दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो” ती महिलाले भनिन् ।
पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहिरी दिएको नवलपरासी बर्दीघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाले बताए । उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार गरिसकेको उनले बताए ।
वडाअध्यक्षले नै अर्को जिल्लाकी महिलालाई जंगलमा लगेर बलात्कारको आरोप लागेपछि घिरिङ गाउँपालिकामै खैलाबैला मच्चिएको छ ।