काठमाण्डौ, वैशाख ३० ।
भारतीय जनता पार्टी भाजपाका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले जनकपुर (प्राचिन मिथिला ) भारतीय भूभाग भएकोले फिर्ता लिनु पर्ने अभिब्यक्ति दिएपछि अहिले चौतर्फि बिरोध भएको छ ।
भाजपा सांसद आजादले मोदीको जनकपुर भ्रमणलाई लक्षित गरी आफ्नो ट्वीटर हैण्डलमा जनकपुर (प्राचिन मिथिला ) भारतीय भूभाग भएको र यस भूभागलाई फिर्ता लिनु पर्ने उल्लेख गरेको छ ।
उनले लेखेका छन् – ‘आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम मिथिलाको राजधानीमा तपाईलाई स्वागत छ । २ सय वर्ष अघि अंग्रेज र नेपाल सरकारबीच भएको सन्धीमा मिथिलाको भूभाग नेपाललाई दिइएको थियो, यस सन्धीको समय समाप्त भयो । अनुरोध छ, यस भूभागलाई फिर्ता लिई, माता सीतालाई सम्मान गर्दै मिथिला राज्यको गठन गरौं ।’
सांसद आजदको उक्त भनाईप्रति अहिले चौतफि बिरोध सुरु भएको छ । नेपाली कांग्रेस धनुषाले आज पत्रकार सम्मेलन आयोजन गरी आजादको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले भाजपा सांसद कीर्ति आजादको अभिव्यक्ति प्रति कडा आपत्ति जनाउँदै दुई देशबीचको सम्बन्ध बिगार्न खोज्ने कीर्ति आजाद प्रवृतिका नेताहरुसँग सावधान रह्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्ता अराजक अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध बिग्रन सक्छ । आजाद जस्तो गैरजिम्मेवार नेताले आफ्नो अभिव्यक्ति फिर्ता लिनु पर्दछ ।’
भाजपा सांसद आजादको यो अभिव्यक्ति सार्वजनिक भए लगतै कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि सामाजिक संजाल फेसबुक तथा ट्वीटरमा कडा आपत्ति जनाउनु भएको थियो ।
निधिले प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतको नरेन्द्र मोदी सरकारसँग अविलम्ब कारबाहीको माग गर्नुभएको छ ।
निधिले फेसबुकमा स्टेटसमा लेख्नुभएको छ – ‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामका भारतीय सांसदलाई जनकपुर, प्रदेश २, मधेस र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं । त्यो सोच दुबै देशको अखण्डताको लागि खतरा हो । मोदी र ओली दुबै सरकारले तुरुन्त आवश्यक कारबाही गरेर, सार्वजनिक गरोस् । नत्र हामी बर्दास्त गर्दैनौं ।’
कांग्रेस धनुषाका सभापति रामसरोज यादवले सञ्चारकर्मीहरुसंग भन्नुभयो, – ‘यस्ता अभिव्यक्तिले दुबै देशको अखण्डता माथि प्रभाव पार्नेछ । एउटा जिम्मेवार सांसदले यस्तो अभिव्यक्ति दिनु हुन्न ।’ भाजपा सांसद आजाद बिहारको दरभंगा संसदीय क्षेत्रबाट सांसद चयन भएका हुन् तर हाल उनलाई भाजपाले पार्टीबाट निलम्बन गरेको छ ।
यस्तै सत्तारुढ दल नेकपा एमालेले पनि बिरोध गरेको छ ।
एमालेको बैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले विज्ञप्ति नै निकालेर भाजपाका सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गर्नुभएको
सोे भनाई नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथिको प्रहार रहेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेका विदेश मामिला विभागले निकालेको विज्ञप्तिमा नेपाल र भारतका बीचमा विगतका तीता–पीरा कुराहरुलाई इतिहासका पानामा छाडेर पारस्परिक सम्मान, समानता, हित र विश्वासका आधारमा सम्बन्ध सुमधुर तुल्याउने प्रयत्न भइरहेको बेला आजादको ट्वीट निन्दनीय रहेको पनि उल्लेख गरिएको छ ।
भारतीय सत्तारुढ दलकै सांसदबाट नेपालको विरुद्धमा आएको अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित रहेको भन्दै विज्ञप्तिमा नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुन गरी उत्तेजनापूर्ण अभिव्यक्ति आए पनि नेपाल भ्रमणका क्रममा मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले आजादको भनाई स्वतः खण्डित भएको पनि उल्लेख गरिएको छ ।
यस्तै, एमालेले दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल र्पुयाउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन आफ्नै नेतृत्वको सरकारको ध्यानाकर्षण पनि गराएको छ । जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२ नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरको बताईएको छ ।
