२८ बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो खिच्ने क्रममा कारोबार दैनिकका संबाददाता पत्रकार भूमिराज जोशी पक्राउ परेका छन् । उनलाई तिनकुनेबाट प्रहरीले फोटो खिच्ने क्रममा पक्राउ गरेको थियो ।
मोदी त्रिभुवन विमानस्थलबाट तिनकुनेहुँदै राष्ट्रिय सभागृह आउने कार्यतालिका थियो । पत्रकार जोशी पनि फोटो खिच्न भनेर तिनकुनेको बाटो छेउमा निस्किए । तर उनलाई प्रहरीले फोटो खिच्न पाउँदैन भन्दै कुनै स्पष्टिकरण नसोधी गिरफ्तार गरी तिनकुनेको प्रहरी वृत्तमा राखियो ।
महानगरीय प्रहरी वृत बानेश्वरबाट मोदीको सुरक्षामा खटिएको प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको टोलीले जोशीलाई पक्राउ गरेका थिए । उनलाई प्रहरी हिरासतमा लिइएको २ घण्टापछि मात्र छाडिएको थियो ।
‘तीनकुनेमा मोदीको फोटो खिच्नका लागि तयारी भएको थिए, त्यत्तिकैमा पछाडी जानुस भन्दै सबैलाई धकेले । त्यतिबेला म फोटो खिच्ने तयारीमै थिए । तैंले भनेको सुनिनस् भन्दै डिएसपी क्षेत्रीले लत्याएर गाडीमा राखे ।’ पीडित पत्रकार जोशीले भने । उनले डिएसपी क्षेत्रीले झोला, क्यामरा, प्रेस कार्ड चेक गरेर पनि फोटो खिच्न नदिएको बताए ।
गृह मन्त्रालयले मुख्य स्थान, एयर पोर्ट, टुँडिखेल, राष्ट्रिय सभागृहमा लगायतका स्थानमामात्र मोदी विशेष प्रेस पासको अनिवार्य गराएको थियो । तर प्रहरीले गाली गलौजको भाषामा आफूमाथि ज्याददी गरेको जोशीको भनाई छ ।
जोशी पक्राउ परेपछि मूलुकभरका पत्रकारले प्रहरी विरुद्ध आवाज उठाएका थिए । पत्रकारमाथि प्रहरीको दुव्र्यवहार, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै सामाजिक सन्जालमा विरोध भएपछि उनलाई पक्राउ गरेको २ घण्टापछि छाडिएको छ ।
जोशीले प्रेस स्वतन्त्रतामाथिको प्रहरी हस्तक्षेपले लोकतन्त्रको खिल्लि उडाएको प्रतिक्रिया दिएका छन् । उनले लोकतन्त्रमा पत्रकारले जनतालाई सूचित गर्न नपाउनु सरकारले अधिनायकवादलाई प्रश्रय दिएको पनि आरोप लगाए ।