सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत , ३१ नयाँ थप

सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत , ३१ नयाँ थप

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

 

धनगढी, २७ वैशाख

नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ ।

संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुखसमेत रहनुभएका धामीले बताउनुभयो ।

कैलालीको शुरुआतको विन्दु खक्रौलास्थित ७०० नंको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रह्मदेव नजिकको सीमाको ८११ नं सम्मका सीमास्तम्भको अवस्था भत्केबिग्रेका फेला पारेको पाइएमा तिनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो । कैलाली जिल्लाको भजनी नजीकको मारियाघाट र धनगढी उपमहानगरपालिकाको फूलबारी सीमा क्षेत्रका बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमास्तम्भ निर्माण गर्न नदिने जनाउँदै विवाद गरेपछि ती दुवै ठाउँमा निर्माण हुनुपर्ने सात सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ । विवादित क्षेत्रका सीमास्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ ।

नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत धामी र भारतका तर्फबाट देहरादून नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गत मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रैला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमास्तम्भको रेकी गरी निर्माण र मर्मत गरेको हो । “दुवै देशका टोलीले संयुक्त रुपमा सर्भेको काम गरेको हो”, धामीले भन्नुभयो, “मारियाघाट र फूलबारीबाहेकका क्षेत्रमा सीमास्तम्भको निर्माण मर्मतमा दुवै देशका नागरिकबाट सहयोग मिलेको थियो ।” टोलीलाई ७ नं प्रदेशका कैलाली, कञ्चनपुरबाहेक, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको पनि सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

यसैबीच आज यहाँ भएको दुवै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भेसम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ ।
बैठकमा सीमा क्षेत्रमा देखिने विवाद समाधान आपसी समझदारीबाट खोज्न तथा सीमा सर्वेक्षणलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुवै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रअिज र प्रहरी प्रमुख तथा भारतका तर्फबाट खिरी, पिलिभित, चम्पावत र उदमसिं नगर जिल्लाका डिस्ट्रिक मजिष्टे«ट(डिएम), प्रहरी अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ