काठमाडौं, वैशाख २६ ।
पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणकाबारे सदनलाई जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा मोदी नेपालको भ्रमणमा आउन लाग्नुभएके जानकारी गराउनु भएको हो ।
उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका विषयमा कुराकानी हुने र संयुक्तरुपमा दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको पनि बताउनु भयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा ‘रामायण सर्किट’को संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुवै देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।