ऐजेन्सी, वैशाख २५ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता सम्बन्धमा आज औपचारिक निर्णय गर्नुहुने भएको छ ।
राष्ट्रपति ट्रम्पले माइक्रोब्लगिङ साइट ट्वीटरमार्फत इरानसँगको सम्झौतामा कायमै रहने वा नरहने भन्ने विषयमा औपचारिक निर्णय गर्ने जानकारी दिनुभएको हो ।
सन् २०१५ मा अमेरिका सहितका युरोपेली मुलुक र इरानबीच आणविक हतियारसम्बन्धी कार्यक्रमलाई निरुत्साहित गर्ने उद्देश्यले अन्तर्रा्ष्ट्रिय सम्झौता भएको थियो । सो सम्झौतामा इरानले आणविक कार्यक्रम सीमित पार्ने र त्यसको सट्टा इरानमाथि लागेको प्रतिबन्ध खुकुलो पार्ने उल्लेख छ ।
अमेरिकाले सो सम्झौताको चर्को आलोचना गर्दै त्यसबाट बाहिर निस्कने चेतावनी दिँदै आएको छ । राष्ट्रपति ट्रम्प सो सम्झौताबाट पछि हट्ने मनस्थितीमा रहेको ट्रम्प प्रशासनले जनाएको छ ।
यद्यपी संयुक्त राष्ट्रसंघ एवं फ्रान्स, बेलायत जर्मनी लगायतका यूरोपेली मुलुकहरुले भने सो सम्झौतामा कायमै रहनुपर्ने धारणा अघि सार्दै आएका छन् । इरानसँग गरिएको परमाणु सम्झौताबारे अमेरिकाले जस्तोसुकै निर्णय लिएपनि उनीहरुले भने सो सम्झौतालाई निरन्तरता दिने बताउँदै आएका छन् ।
आगामी शनिबारसम्म सो सम्झौतामा रहीरहने वा परित्याग गर्ने भन्नेबारे निर्णय गरिसक्नुपर्ने समयसीमा रहेकोले पनि राष्ट्रपति ट्रम्पले आजै सो निर्णय सार्वजनिक गर्न लागेको बीबीसीले जनाएको छ ।