विराटनगर, २४ वैशाख।
गएको चैत्र २५ गते विराटनगरमा धार्मिक गुरु आचार्य श्रिनिवास माथि भएको गोली प्रहारको घटनाका योजनाकार उनी आफैं भएको खुलासा भएपछि प्रहरीले आचार्य श्रीनिवालाई सोमवार पक्राउ गरेको छ ।
उनलाई भारतको दिल्ली उड्न लाग्दा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पक्राउ गरी विराटनगर पुर्याएर प्रहरीले बयान लिएलगत्तै पत्रकार सम्मेलन गरी पछिल्लो घटनाको जानकारी दिएको हो ।
धार्मिक द्वन्द्व चर्काउने उद्देश्यले श्रीनिवासाचार्यले आफ्नै अंगरक्षक मार्फत आफैमाथि गोली प्रहार गराएको रहस्य प्रहरीले पत्ता लगाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी श्रीनिवास आचार्यकै योजनामा उनकै सहयोगी चितवनका माधव चौधरीले गोली प्रहार गरेको सार्वजनिक गरेको हो ।
चितवन भरतपुर महानगरपालिका–४ का २९ वर्षीय चौधरीलाई पेस्तोल चलाउने तालिम दिएर श्रीनिवासाचार्यले आपैmमाथि गोली प्रहार गरेको पाइएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । उनीमाथि गोली प्रहार गर्न प्रयोग गरिएको पेस्तोल भने नवलपरासीको गैंडाकोट ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको खुलेको छ ।
सुरुवातमै शंकास्पद मानिएको घटनाको अनुसन्धानको क्रममा चौधरी र अधिकारी पक्राउ परेपछि प्रहरीले श्रीनिवासाचार्यलाई पनि पक्राउ गरेको हो । विराटनगर–१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत् सप्ताह पुराण वाचन गर्न आएका श्रीनिवासाचार्यमाथि आएकै राति गोली प्रहार भएको थियो ।
घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित विशेष प्रहरी अनुसन्धान टोली, प्रदेश १ प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान गरी तथ्य सार्वजनिक गरेको हो । ‘माधव चौधरीले श्रीनिवासाचार्यबाटै बन्दुक चलाउन सिकेर उनीमाथि गोली प्रहार गरेको खुलेको छ’ एसपी बिसीले भने, ‘श्रीनिवासाचार्यले आफूमाथि गोली प्रहार गर्न नवलपरासीका अधिकारीबाट पेस्तोल मगाएको पाइएको छ ।’
हिन्दू राज्य कायम गर्नको लागि विभिन्न चरणमा भएका आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्मगुरूलाई उक्साउनको लागि श्रीनिवासाचार्यले आफैमाथि गोली प्रहार गरेको पाइएको प्रहरीको भनाई छ ।
श्रीनिवासचार्यले आफ्नो हातमा गोली प्रहार गर्न भनेको भएपनि मिस भएर कोखमा लागेको पक्राउ परेका चौधरीले बताएका छन् । ‘५ मिटर टाढाबाट हानेको थिएँ, मिस फायर भएर कोखानजिकै लाग्यो, धर्मगुरु आफैँले पेस्तोल दिएर हामीलाई गोली हान्न भन्नुभएको थियो’ उनले भने ।
प्रहरीले चौधरी र अधिकारीमाथि जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । श्रीनिवासाचार्यमाथि चलाउने मुद्दाबारे भने सरकारी वकिलको कार्यालयसँग परामर्श भइरहेको प्रहरीले जनाएको छ । श्रीनिवासमाथि गोली प्रहार भएपछि देशैभर त्यसको विरोधमा विभिन्न प्रदर्शन भएका थिए । सरकारले उनको उपचार खर्च सबै बेहोर्ने बताएको थियो । राप्रपा नेपालले हिन्दुत्वलाई कमजोर बनाउन धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको दावी गरेको थियो ।
आफैंमाथि गोली प्रहारको घटना गराएर धार्मीक द्वन्द्व चर्काउन खोजेका श्रीनिवासले चितवनमै गोली हान्ने योजना बनाएको पनि खुलेको छ । चितवनमै गोली हान्न लगाएर घाइते हुने योजना बनाएको भएपनि समयमा पेस्तोल प्राप्त हुन नसक्दा त्यो योजना विराटनरमा पुगेर कार्यान्वयन गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा उनको पूर्व तयारी बारेमा खुलासा भएको हो । एक साताअघि नै गोली काण्डमा श्रीनिवासकै योजना रहेको निष्कर्शमा प्रहरी पुगेको थियो । तर त्यसपछिका गतिविधि निगरानी गर्न र थप प्रमाण जुटाउन उनी विराटनगरको न्युरो अस्पतालबाट बिदा भएर काठमाण्डौं पुग्दासमेत प्रहरीले उनलाई पक्राउ गरेन ।
उनलाई अरु दुई तीन दिनपछि मात्र पक्राउ गर्ने प्रहरी तयारी थियो । तर भारत उड्न लागेपछि उनलाई विमानस्थलबाटै पक्राउ गरेर कारवाहीका लागि घटना भएको जिल्लामा ल्याइएको हो ।