वैशाख २२, जनकपुर ।
नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको अभियान चलाएको दाबी गरेपनि प्रदेश सरकारका मन्त्री र प्रदेशसभाका सदस्यहरु अझै महासंघको सदस्यता लिएर भोट हालिरहेका छन् ।
स्थानीय तहको निर्वाचन लड्दा महासंघको सदस्यता त्यागेको भनेर घोषणा गरेकाहरु निर्वाचित भईसकेपछि पनि अझै मतदाताको रुपमा महांसंघको निर्वाचनमा मतदान गरिहेका छन् ।
मुलुक संघीय संरचनामा गएपछि नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमिति चयनका लागि आज भएको चुनावमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् ।
महासंघको प्रदेश कार्यसमितिका लागि आज प्रदेश २ का कृषि तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्र साहले सप्तरीमा मतदान गर्नुभएको छ ।
प्रदेशसभाका सांसद रामआशीष यादव र सरस्वती चौधरीले धनुषा महासंघमा मतदान गर्नुभयो ।
महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले पनि जलेश्वर शाखामा पुगेर मतदान गर्नुभयो । प्रदेशसभा सांसद यादव पत्रकार महासंघ धनुषा र मेयर मण्डल महोत्तरीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
मन्त्री साह र सांसद यादव संघीय समाजवादी फोरमका नेता तथा चौधरी नेपाली कांग्रेसबाट सामनुपातिक प्रदेशसभा सांसद हुनुहुन्छ भने मेयर मण्डल राष्ट्रिय जनता पार्टी(राजपा)बाट निर्वाचित हुनुभएको थियो ।
नेपाल पत्रकार महासंघको सदस्यसमेत रहेका मन्त्री साह आज भएको निर्वाचनमा मत हाल्नैका लागि सप्तरी पुग्नुभएको हो ।
प्रदेशसभा सांसद यादव र चौधरीले धनुषा महासंघमा पुगेर मतदान गर्नुभयो ।
फोटोः कान्तिपुरबाट
