काठमाडौँ, २२ वैशाख ।
उपत्यकाको नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर निकालिएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२१औँ हप्तामा आज कान्तिभैरव मन्दिरअघिको नदी किनारमा सफाइ गरि एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २२२औँ हप्ताको सफाइ वैशाख २९ गते शनिबार वाग्मती, सूर्यमती र चन्द्रमती नदीको संगमस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरिने भएको छ । सफाइको संयोजन नगरपालिकाको वडा नं ४ कार्यालयले गर्ने जनाइएको छ ।
रुद्रमती सफाइको २१५औँ हप्तामा रातोपुलबाट मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
विष्णुमती सफाइ अभियानको १८७औँ हप्तामा तारकेश्वर नगरपालिकाको आनन्दटोल क्षेत्रमा सफाइ गरि पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले राससलाई जानकारी दिनुभयो ।
चक्रपथ सफाइको ५६औँ हप्तामा आज तिलगंगा क्षेत्रमा सफाइ गरी १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।
सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका आठ वटा टहरा पनि भत्काइएको सफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले बताउनुभयो ।