काठमाडौं बैशाख १९ ।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्यास गर्न दिनु गम्भिर गल्ति हुने बताउनु भयो ।
उहाँले मुलुकमा राष्ट्रवादको नाममा राष्ट्रघाती तत्वहरु हावी भएको भन्दै जबरजस्ती गर्न खोजे मोदीलाई कालोमोसो दलेर स्वाभीमानी नेपालीहरुले लखेट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
ओली र प्रचण्डको राष्ट्रघाती चरित्रको चर्चा गर्दै गजुरेलले विगतका सबै राष्ट्रघाती सन्धिसम्झौताहरु अक्षरशः कार्यान्वयन गर्ने बाचा गरेर दिल्लीबाट फर्केका ओलीले मोदीको हातबाट अरुण तेस्रोको शिलान्यास गराउन खोजेर गम्भीर राष्ट्रघात गरेको टिप्पणी गर्नुभयो ।
उहाँले रुस र चीनले महेन्द्रको पालामा स्थापना गरिदिएका राज्यको स्वामित्वमा रहेका उद्योगधन्दा, कलकारखानाहरु दलाल शासकहरुले गुन्द्रुकको मूल्यमा भारतीय दलाल तथा नोकरशाही पुँजीपतिहरुलाई बेचेर खाएको आरोप लगाउनु भयो ।
उहाँले उद्योगधन्दा बेचेपछि अब नागरिकलाई विदेशमा बेचेर रेमिट्यान्सबाट देश चलाउन थालेका दलाल शासकहरुले भारतीय दलाल तथा नोकरशाही पुँजीपतिहरुलाई खुशी पार्न ‘नो वर्क नो पे’लगायत मजदुर विरोधी कानुन बनाएको दावी समेत गर्नुभयो ।
पञ्चायतले समेत लागू गर्न नसकेको ‘नो वर्क नो पे’जस्तो मजदुर विरोधी कानुन बनाएर एमाले माआयोवादी लगायतका पार्टीहरुले मजदुर, किसानको पक्षधर नभएर सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको रक्षाकवच भएको आफैले पुष्टि गरेको गजुरेलले दावी गर्नुभयो ।