एजेन्सी १७ वैशाख ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने भएको छ ।
प्यालेष्टिनी स्वतन्त्रता संगठन पिएलओका महासचिव साहिब एरेकातले अमेरिकी पहलमा हुने शान्ति सम्झौतामा सहभागी नहुने बताउनु भएको हो ।
अमेरिकी राष्ट्रपतिको सन्देश बोकेर विदेश मन्त्री माइक पोम्पेओ इजरायलमा रहेका समय प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेष्टाइन’सँग गरेको कुराकानीमा एरेकातले सो कुरा बताउनु भएको हो ।
ट्रम्पले इजरायलको राजधानीका रूपमा जेरूसेलमलाई मान्यता दिने घोषणा गरेर आफै शान्ति प्रक्रियाबाट एक्लिएको पिएलओ नेताको भनाइ थियो ।
उहाले जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अडान परिवर्तन नगर्दासम्म अमेरिका शान्ति प्रक्रियाको समन्वयकर्ता वा सदस्य हुन नसक्ने बताउनु भएको छ ।
पूर्वी जेरूसेलमबिनाको प्यालेष्टिनी राज्यको कुनै अर्थ नहुने महासचिव एरेकातको भनाइ थियो ।