काठमाडौ १७ वैशाख ।
आज २५६२ औं बुद्ध जयन्ती बिभिन्न कार्यक्रमा गरी मनाइदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका शान्तिका नायक भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।
सिद्धार्थ गौतम बुद्धको आजको दिन लुम्बिनीमा जन्म हुनुका साथै बुद्धत्व प्राप्त र महापरिनिर्वाण प्राप्ती पनि आजकै तिथीमा भएकाले बौद्धधर्मावलम्बीहरुले यस दिनलाई विषेश रुपमा लिने गरेका छन् ।
इसापूर्व ५ सय ६३ अर्थात आजभन्दा २५ सय ६२ वर्ष अगाडि वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका उहाँले मानिसले पाएका दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्कनु भएको थियो ।
ईसा पूर्व ५ सय २८ को वैशाख शुक्ल पूर्णिमाकै दिन हाल भारतको बुद्धगयास्थित पीपलको रुखमुनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी बुद्ध बन्नु भएको थियो । बुद्धजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
यस्तै बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज विहान शान्र्ति याली निकालिएको छ । मायादेवी मन्दिरबाट शुर्रु याली लुम्बिनीको मुख्य–मुख्य भागको परिक्रमा गरेको थियो ।
यसैबीच बुद्धजयन्तीका अवसरमा शुभाकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकाना व्यक्त गर्नुभएको छ ।
धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
सन्देशमा उहाँँले आजको पवित्र दिनमा एकापसमा सद्भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।
यसैगरी २५६२ औं बुद्धजयन्तीको अवसरमा शुभाकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताउनु भएको छ ।
सन्देशमा उहाँले बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक भएको उल्लेख गदै बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।