मुद्राको सहज आपूर्ति भएको छ:  राष्ट्र बैंक

मुद्राको सहज आपूर्ति भएको छ:  राष्ट्र बैंक

  • शुक्रबार, बैशाख १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 

काठमाडौँ, १४ वैशाख ।

नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ ।

बैंकको ६३औँ वर्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुद्राको चलनचल्ती बढ्दै गएको आवस्थामा आपूर्ति सहज गरेको बताउनुभयो ।

अर्थतन्त्रमा मौद्रिकीकरणमा सुधार भइरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले चालु आवको चैत मसान्तसम्ममा चलनचल्तीमा रहेको नोट रु चार खर्ब ७४ अर्ब ९५ करोड पुगेको उल्लेख गर्दै उहाँले ७७ वटा नोट कोषमा रु ५२ अर्ब रकम मौज्दात रहेको जानकारी दिनुभयो ।

गभर्नर डा नेपालले मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनका लागि कम्तीमा रु एक खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको जानकारी दिनुभयो ।

विदेशी विनिमय व्यवस्थापन 

नागरिक, फर्म तथा संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृति लिइ विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैरआवासीय नेपाली वा संघसंस्थाबाट अमेरिकी डलर पाँच लाखसम्म र भारतको हकमा पाँच करोड भारतीय रुपैयाँसम्म ऋण लिनसक्ने व्यवस्था गरिएको गभर्नर डा नेपालले जानकारी दिनुभयो ।

विदेशी मुद्रा विदेशस्थित बैंकमा लगानी गर्दा पूर्ण तरल सरकारी सुरक्षणपत्रमा पाँच वर्षसम्मका लागि लगानी गर्नसक्ने व्यवस्था वारे जानकारी दिँदै उहाँले वणिज्य बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

भुक्तानी प्रणाली 

गभर्नर डा नेपालले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैंकिङ, एसएमएस बंैकिङ, मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको जानकारी दिनुभयो ।

हालसम्म भुक्तानी सेवा प्रदायक÷सञ्चालकको कार्य गर्ने प्रयोजनका लागि पाँच संस्था÷संयन्त्रलाई अनुमति प्रदान गरिएको जानकारी दिँदै उहाँले भुक्तानीसम्बन्धी कार्य गर्ने प्रयोजनका लागि १६ वटा संस्था÷संयन्त्रलाई आशयपत्र प्रदान गरिएको बताउनुभयो ।

गभर्नर डा नेपालले ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भएको बताउनुभयो ।

वित्तीय क्षेत्र सुधार तथा पहुँच 

उहाँले मर्जर तथा प्राप्ति विनियमावली लागू भएदेखि चालु आवको चैत मसान्तसम्म ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका गरी १५८ वटा संस्था एकआपसमा गाभिएर ४० वटा संस्था बन्न पुगेका जानकारी दिनुभयो ।

गभर्नर डा नेपालले ‘क’ वर्गका २८, ‘ख’ वर्गका ३६, ‘ग’ वर्गका २५ र ‘घ’ वर्गका ६४ गरी बैंक तथा वित्तीय संस्थाको कूल संख्या १५३ रहेको जानकारी दिँदै कूल शाखा संख्या पाँच हजार ८४८ पुगेको बताउनुभयो ।

संघीयता कार्यान्वयनको सिलसिलामा गठन भएका कूल ७५३ स्थानीय तहमध्ये ३९४ मा वाणिज्य बैंकको उपस्थिति रहेको उल्लेख गर्दै उहाँले बाँकी तहमा यसै आर्थिक वर्षभित्र शाखा स्थापना हुने योजना रहेको बताउनुभयो ।

बजेट घाटा एक खर्ब २५ अर्ब

चालु आवको नौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थालाई रु १३ अर्ब ५५ करोड पुर्नकर्जा प्रवाह भएको जानकारी दिँदै गभर्नर डा नेपालले वाणिज्य बैंकले नगद प्रवाहमा आधारित सरकारी बजेट रु एक खर्ब २५ अर्ब ५६ करोडले घाटामा रहेको बताउनुभयो ।

वैशाखको पहिलो सातासम्म नगद प्रवाहमा आधारित कूल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६६ अर्ब ३१ करोड पुगेको उहाँले जानकारी दिनुभयो ।

चालु आवको आठ महिनासम्ममा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४ दशमलव २ प्रतिशतले, बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव ४ प्रतिशतले बढेको छ ।

सो अवसरमा राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटीलेले वित्तीय क्षेत्रको सुधार एवं कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सुधारका लागि प्रयास गरिरहेको बताउनुभयो ।

जिम्मेवारी पूरा नगर्ने र बैंक तथा वित्तीय संस्थामा भएको अनियमितताका फाइल लुकाउने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिँदै उहाँले भूकम्पबाट प्रभावित भवनको पुनर्निमाणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वगभर्नर डा गणेशबहादुर थापालगायत सिक्का नमुनाकार सुन्दर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी