काठमाडौं १३ वैशाख ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।
विभिन्न ७ स्थानमा मात्र प्रदर्शन गर्न पाउने पूर्ववत निर्णय असार एक गतेबाट मात्र कार्यान्वयन गर्ने काठमाडौं प्रशासनले जनाएको छ ।
रत्नपार्क, माईतीघर मण्डला लगायत स्थानमा प्रदर्शन गर्न नपाउने निर्णयविरुद्ध राजनीतिक दल तथा पेसागत संघसंगठनले विरोध जनाएपछि आगामी आइतबारबाट लागू गर्ने तयारी गरिएकोमा काठमाडौं प्रशासनले निर्णय पुनर्विचार गरेको हो ।
राजधानीको शान्ति सुरक्षा, यातायात ब्यवस्थापन लगायतलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले खुलामञ्च, तीनकुने, भुँईखेल चौर, भगवान पाउ, पेस्सीकोला खेल मैदान, सिफल चौर, सानो गौचरन र लैनचौर अगाडिको चौरमा मात्र प्रर्दशन तथा विरोधका कार्यक्रम गर्न पाउने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आज सूचना निकालेर निर्णय कार्यान्वयनका लागि समय अपुग रहेको भन्दै आगामी असार १ बाट मात्र लागू हुने बताउनुभएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले वैशाख २ गते सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो ।