काठमाडौँ, १२ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो ।
भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको बताउनु भयो ।
आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धिवाद आउन लागेको बताउनु भयो ।
सोही अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।