काठमाण्डौ , २९ चैत ।
नेपाल कम्यूनिष्ट पार्टीको नामबाट व्यवसायीलाई दुई करोड रुपैयाँ माग्ने तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय सोमबहादुर गुरुङ, सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाल छन् ।
उनीहरुले आफुहरु नेकपाका कार्यकर्ता भएको भन्दै गोरखा सुलिकोट गा.पा. वडा नं. ८ घर भई हाल काठमाण्डौको खुशिबु नयाँ बजारमा बस्दै आएका जग्गा व्यबसायीसँग फोन मार्फत २ करोड मागेको र नदिए घर बमले उठाइदिने र ज्यान मार्ने भन्दै धम्क्याएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जले जनाएको छ ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार पक्राउ परेका चेतबहादुर मुख्य योजनाकार हुन् भने वसन्तले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरेर धम्क्याएका थिए । उनीहरुले रकम नदिएमा घर बमले उठाइदिने र ज्यान मार्ने भन्दै धम्क्याएका थिए ।
उनीहरुलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दा दर्ता गरेर ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनु भयो ।