काठमाडौं, चैत्र २८ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको दुई दिने चौंथो शिखर सम्मेलन आज काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले परिषदलाई प्रादेशिक रुपमा बिस्तार गर्ने तयारी भइरहेको बताउनुभयो ।
राज्यमन्त्री अर्यालले परिषदको अनुसन्धानलाई अन्तर्रा्ष्ट्रिय स्तरमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रका प्रभावहीन योजनालाई स्थगन गर्दै अघि बढ्ने बताउँदै उहाँले यसमा गरिएको लगानी सदुपयोग गर्न स्वास्थ्य अधिकारीलाई आग्रह गर्नुभयो ।
परिषदका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले सम्मेलनबाट प्राप्त हुने सुझावका आधारमा नीति निर्माण गर्न पहल गर्ने उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेलले स्वास्थ्य क्षेत्रमा आउने बजेट अपर्याप्त हुने गरेको गुनासो गर्नुभयो ।
प्रादेशिक स्तरमा देखिएका स्वास्थ्य क्षेत्रका कठिनाईको समाधानका लागि अहिलेबाटै अध्ययन थाल्नुपर्ने उहाँको भनाई छ ।
सम्मेलनमा नसर्ने रोग, पोषण र खाद्य सुरक्षा, प्रजनन लैङ्गिक र मातृ स्वास्थ्य लगायत आठ वटा विषयमाथि प्रस्तुत हुने कार्यपत्रमा छलफल हुनेछ । एक हजार बढी विज्ञको सहभागिता रहेको सम्मेलनमा बिभिन्न ६५ वटा अनुसन्धानबारे प्रस्तुति रहने परिषदले जनाएको छ ।