विराटनगर, २८ चैत ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिलामाथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दाईजो प्रथा अन्त्य गर्न कार्यमा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।
महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उहाँले आग्रह पनि गर्नुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताउनुभयो ।
उक्त महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्रा्ष्ट्रिय समिति र अन्तर्रा्ष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ । महाधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ ।