काठमाडौं, चैत्र २८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्धा्रित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधै जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
आज दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न पुग्नुभएका ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न नहुने बताउनु भएको छ ।
कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने ओली सरकारको निति रहेको बताउँदै उहाले निर्धा्रित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ । आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्रीसँगै उर्जामन्त्री वर्षमान पुन, चिनियाँ राजदूत यू होङ लगायत सरकारी प्रतिनिधि टोली आज स्थलगत अध्ययनका लागि गएको हो ।
हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा गरेको ढिलाईका कारण आयोजना समयमै पूरा नहुने र लागत बढ्ने देखिएपछि प्रधानमन्त्री आफैंले निरिक्षण गर्नु भएको हो ।
दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको ब्रेक थ्रु भइसकेको भएपनि भारतीय कम्पनीले आफ्नो भागमा परेको काममा ढिलाई गरेपछि आयोजनाको काममा ढिलासुस्ती भएको हो ।
विशेषगरीे बाँधसम्बन्धी गेट राख्ने र पाइप जडानको कार्यको जिम्मेवारी लिएको छ । अहिले टेक्सम्याकाले माथिल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गरिरहेका माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।
२०६८ बाट निर्माण शुरू गरिएको आयोजना २०७४ असारसम्म सम्पन्न गर्नुपर्ने भएपनि भुकम्प र तत्कालिन नाकाबन्दीका कारण पर धकेलिएर २०७५ पौषसम्म विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको न्यौपानेको भनाई छ ।
स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको यो आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएपनि निर्धा्िरत समयमा सम्पन्न नभएपछि आयोजनाको कुल खर्च बढेर ४१ अर्ब ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । यो आयोजना सञ्चालनमा आएपछि नेपाल विद्युतमा आत्मनिर्भर हुने अपेक्षा गरिएको छ ।