काठमाडौं चैत्र २३, ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको छैटौं संघीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाण्डौंस्थित नेपाल पुलिस क्वलको भवनमा सुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणमा मिडिया जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संचार माध्यम, पत्रकारले राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै लोकतन्त्र बलियो भए मिडिया बलियो हुने र मिडिया बलियो भए लोकतन्त्रको सुदृढीकरण हुने बताउनुभयो ।
राज्यको चौथो अंगको रुपमा संचार जगतलाई स्वीकारिसकेकाले आवाजबीहिनको आवाज, उत्पीडित तथा उपेक्षितको पक्षमा आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो । सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने उहाँको भनाइ थियो ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिनुभयो ।
फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष दण्ड गुरुङले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अब कुनैपनि पत्रकारले सेवा र सुविधाको लागि काठमाडौं आउने बाध्यता हट्ने बताउनुभयो ।
पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्नेजस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानसमेत यसले सञ्चालन गर्दैआएको छ । महाधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी छन् । फोनिजमा आठ वटा जातीय संस्थागत सदस्य आबद्ध छन् । यसको देशभित्र ५० भन्दा बढी शाखा छन् भने विदेशमा चार शाखा छन् ।भोलि सकिने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।