सिन्धुली , २१ चैत ।
नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको हरिहरपुरगढीमा समाज भवन निर्माण आरम्भ गरेको छ ।
सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ७ स्थित सिरुदमारमा निर्माण हुने भवनको शिलान्यास भईसकेको पार्टीको जनकपुर ब्युरोले जनाएको छ ।
नेकपा सिन्धुली जिल्ला इन्चार्ज लक्ष्मण पौडेलले पार्टीको केन्द्रीय नीतिअन्तर्गत सिरुदमारमा समाज भवन निर्माण गर्न लागिएको बताउनु भयो ।
उहाँले भन्नुभयो , ‘राज्यद्वारा पछाडि पारिएको उक्त स्थानमा यो नमुना कार्य हो । यसले राज्यद्वारा विभेद गरिएका वर्ग र समाजमा एउटा प्रेरणादायी सञ्चार गर्नेछ ।’
प्रगतिशील विचार र संस्कृतिको प्रचारप्रसार तथा स्थानीय जनताका छोराछोरीका लागि पढ्ने, लेख्ने, खेल्ने र मनोरञ्जन गर्ने थलोका रूपमा यसलाई विकास गर्ने र उक्त निर्माणकार्य ३ महिनाभित्र सम्पन्न गरिसक्ने ब्युरो पार्टी कार्यालयको योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।
देशैभर यस्तैखाले समाज भवन निर्माण गर्ने पार्टी केन्द्रको नीति रहेको नेकपाले जनाएको छ ।
समाज भवन निर्माणका लागि स्थानीय खड्गबहादुर आले र खड्गकुमारी आलेले ५ कट्ठा ११ धुर नम्बरी जग्गा उपलब्ध गराएका हुन् ।