काठमाडौं, चैत २० ।
विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनःनिर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । सोही दलका विरोध खतिवडाले आउँदो वर्षाअगावै पीडितलाई घरबास गराउन माग गर्नुभयो ।
एमालेकै यज्ञराज सुनुवारले भूकम्पपीडित चार दिनसम्म पैदल हिँडेर किस्ता रकम लिन बैंंकमा लाममा बस्न जाँदा पनि अनुदान पाउन नसकेकामा आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले पीडितलाई थप रकम दिनेबारे गरेको भनिएको निर्णय सही वा गलत के हो त्यसबा्े सदनलाई प्रष्ठ पार्न माग गर्नुभयो ।
नेपाली काँग्रेसका जिपछिरिङ लामाले भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो रकम दिन माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) की पम्फा भुुसालले काठमाडौँ –तराई मधेश दूुतमार्गको निर्माणका लागि ललितपुरको खोकना र बुङ्मती क्षेत्रमा पुरातात्विक महत्वका क्षेत्रमा असर पार्ने गरी डिजाइन गरिएको र त्यहाँका जनताको क्षतिपूर्ति न्यून मूल्याङ्कन गरिएको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले श्वेतपत्रमा समृद्धि र सुशासनको भावी यात्राबारे स्पष्ट हुन नसकेको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रिय पहिचानसँग जोडिएका राष्ट्रिय एकता र प्रजातन्त्र दिवस, रामनवमीजस्ता सार्वजनिक बिदा कटौती गर्ने निर्णय पुनर्विचार गर्न माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले श्वेतपत्रमा उल्लेख भएअनुसार मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन को को दोषी हो भन्नेबारेमा संसदीय छानवीन गर्न माग गर्नुभयो ।
यस्तै आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभएपनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ ।
बैठकको विशेष समयमा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आएपनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्नेगरी श्वेतपत्र ल्याएको आरोप लगाउनु भयो ।
उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।