काठमाडौ १८ चैत्र ।
नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्त्येष्टी गरिने भएको छ । अपराह्न तीन बजे पशुपति आर्यघाटमा खड्काको अन्त्यष्टी गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा गत शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उहाको पार्थिव शरीर गएराति ९ बजे काठमाडौं ल्याइएको हो ।
खड्काको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने जनाएको छ ।
साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत फागुनमा उहाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो ।
खड्काको निधनमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने जनाएको छ ।