काठमाडौं १८ चैत्र ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठक आज बस्दैछ । समितिलाई पुर्णता दिन र पुनर्निर्माणमा भइरहेको प्रगतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजेका लागि बोलाइएको छ । परामर्श समितिमा प्रभावित २३ जिल्लाका सांसदहरु रहने व्यवस्था भएपनि अघिल्लो संसद विघटन र प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण हाल सो पद रिक्त छ ।
नयाँ जनप्रतिनिधि आइसकेकाले आजको परामर्श समिति बैठकले पुर्णता पाउने प्राधिकरणले जनाएको छ । यस्तै भूकम्प पीडितलाई घर निर्माणका लागि दिइने अनुदान तथा पुनर्निर्माणमा भइरहेको कामबारे प्राधिकरणका सिईओ युवराज भुसालले ब्रिफिङ गर्नुहुनेछ ।
प्राधिकरणको विभिन्न संरचनागत झण्झट र नीतिगत समिक्षा बारेपनि आजको बैठकमा छलफल हुने बताइएको छ । आजको बैठकले परामर्श समितिलाई पुर्णता दिने र आगामी मंगलबार थप छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।