काठमाडौँ, १७ चैत ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा आज कुपण्डोल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर निकालिएको छ ।
आजको सफाई अभियानमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा उहाँले शिक्षित र धनी मानिसको बसोवास भएको स्थानमा बढी फोहर देखिएको आफ्नो अनुभव सुनाउनुभएको थियो ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–ं ५ स्थित हनुमान वाटिका मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएके थियो ।
यसैगरी सिफलस्थित भण्डारेश्वर मन्दिर परिसर पनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।
चक्रपथ सफाइको ५१ औँ हप्तामा आज चाबहिलचोकदेखि रुद्रमती नदी पुलसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।
चक्रपथको बाफल खण्डको ३३ औँ हप्ताको सफाइका क्रममा स्युचाटार पुलदेखि कलंकी चोकसम्म सफाइ गरी पाँच मेट्रिक टन फोहर निकालिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनु भयो ।