१६ चैत्र,सुर्खेत । छोटै समयमा भ्रष्टाचारा र अनियमितताका एक पछि अर्को घटना सार्वजनिक भइरहेको कालिकोटको महाबै गाउँपालिकामा अर्को घटना सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंह र उपाध्यक्ष मोहनराज शाहीले मिलेमतोमा कानुनी सल्लाहकारको तलब खाँदै आएका छन् ।
कानुनी सल्लाहकार रुपमा नियुक्त पाएका राजेन्द्र थापालाई कुनै जानकारी नै सेवा सुविधा आफै निकासा गरेर कुम्ल्याउँदै आएका छन् । यतिसम्मकी थापालाई जानकारी नै नदिएर कानुनी सल्लाहकारमा नियुक्त गरिएको थियो । आफू नियुक्त भएको अरुले भनेर मात्रै थाहा पाएको थापा बताउँछन् । गत जेठ १५ गते गाउँपालिकाले निर्णय गरिसकेपछि साउनको अन्तिममा गाउँपरिसदले अनुमोदन गरेर थापालाई नियुक्ति गरेको थियो । तर, उनले भने ६ महिनापछि मात्रै जानकारी पाए ।
थापालाई मासिक १८ हजारको दरले सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको थियो । उनको नियुक्तिलाई गोप्य राखिएको थियो । स्थानीय माकेका नेताले माइन्युटको फोटोकपी गरेपछि मात्रै आफूलाई नियुक्त गरिएको थापाले पत्तो पाए । नियुक्तिमा थापालाई गाउँपालिकाको परामर्शदाताको रुपमा नियुक्त गरिएको निर्णयमा उल्लेख छ । आफूलाई नियुक्त गरेको जानकारी ६ महिनापछि पाउँदा आफैलाई लाज लागेको थापा बताउँछन् ।
आफूलाई नियुक्त गरेको र सेवा सुविधा पनि तोकिएको जानकारी पाएपछि बुझ्दा सबै महिनाको बुझेको रेकर्ड गाउँपालिका कार्यालयमा भेटाएको थापा बताउँछन् । उनको पारिश्रमिक उपाध्यक्ष शाहीले किर्ते गरेर बुझ्दै आएका थिए । सबैको दवावपछि केही महिनाको पारिश्रमिक पाएको थापा बताउँछन् ।
छानविन हुँदा उपाध्यक्ष शाहीले आफूले थापाको तलब बुझेको स्वीकार गरेका थिए । विना भरपाई शाहीले तलब बुझेको रेकर्डले देखाउँछ ।
अहिले थापा स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिसँगै मिलेर गाउँपालिकाभित्र भएको भ्रष्टाचार विरोधी अभियाना लागेका छन् । अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा गाउँपालिकाभित्र करोडौं बजेमा भ्रष्टाचार भएको थापा बताउँछन् ।
गाउँपालिकाको बजेटबाट अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतले सुर्खेतमा जग्गा खरिद गरेको समाचार हामीले यसअघि प्रकाशित गरिसकेका छौं ।
गाउँपालिकाका २ वडामा बनाउन लागिएका भवनको कोटेशन सार्वजनिक नगरी मिलेमतोमा निर्माण सुरु गरिएको छ । यो आर्थिक ऐन विपरित भन्दै स्थानीयले कोटेशन आह्वान गर्न दिएको सुझावलाई अध्यक्ष र उपाध्यक्षले सुनेका छैनन् ।
सामान ढुवानीको नाममा गाडीलाई पादमघाटबाट मान्मबाट सुर्खेत–नेपालगन्ज फेरी नेपालगन्जबाट मान्मसम्म भन्दै ८ लाख रकम निकासा गरिएको छ । तर, गाडी एक लाख १५ हजार सम्झौता भएको मालिक बताउँछन् ।
यो विषयमा बुझ्न खोज्दै अध्यक्ष र उपाध्यक्ष सम्पर्कमा आएनन् ।
-अनलाईन डवली