नवलपरासी, चैत १० ।
भारतले नारायणी नदीमा एकतर्फि रुपमा बनाउँदै गरेको बाँधका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानमा पर्ने भएका छन् ।
निर्माण तत्काल रोक्न स्थानीयले नेपाल सरकारमार्फत् भारतको धयानाकर्षण गराएपनि त्यसको सुनुवाई नहुँदा नारायणी नदी छेउमा एकतर्फी रुपमा भारतीय पक्षले ठूलो बाँध बनाईरहेको छ ।
उक्त बाँधका कारण वर्षायाममा सुस्ता गाउँपालिकाका ६० हजार बढी जनसंख्या विस्थापित हुने खतरा बढेको हो । भारतले सुस्ता गाउँपालिकाअन्तर्गतको नर्सहीस्थित १२ नं. ठोकरको पारी पट्टी बिहार प्रदेशमा पर्ने बाल्मिकी नगरको तिलभठ्ठा जंगलको नारायणी किनारमा बाँध बनाईरहेको छ ।
ठूलो बाँध बनाउँदा नारायणी नदीको धार परिवर्तन भई नेपाली भूभाग डुबानमा पार्ने भएकाले स्थानीय त्रसित बनेका हुन् ।
पाँच वर्षअघि गण्डक ब्यारेजदेखि ३ किलोमिटर बाँध बनाएको भारतले अहिले मर्मतका नाउँमा फेरि नयाँ बाँध बनाउन थालेको हो ।