नेपाली चेली लिएर भारतमा ‘बेश्यालय’ संचालन गर्दै आएका नुवाकोट काँग्रेसका नेता तथा दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।
तामाङसहित् उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।
भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।
नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाण्डु जिल्ला अदालतमा समेत दायर गरेको थियो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ । उनीहरु हाल फरार छन् ।
मानव वेचविखन मुद्दामा खेपिरहेको तामाङलाई काँग्रेस नेताहरुले धरौटीमा छुटाएका थिए । त्यसैगरी घ्याङ्फेदीबाट हराएका सयौं स्थानीयसँग वडाध्यक्ष सुनबहादुर तामाङको नाम पनि जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।
सुनबहादुरका छोरा पनि यही मुद्दामा कारागारमा छन् । स्थानीयका अनुसार तामाङले भारतका विभिन्न ठाउँमा एक दर्जन ‘बेश्यालय’ संचलान गरिरहेका छन् । नेपाली चेलीहरुलाई विभिन्न प्रलोभनमा पारी, फकाएर, झुक्याएर कोठीमा पुर्याउँछन् । उनकी दुई श्रीमती समेत भारतमै छन् ।