काठमाडौँ, ८ चैत ।
सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज राजधानिमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एकीकृत जलस्रोत नीति ल्याउने विषयमा वर्तमान सरकारले विशेष कार्ययोजनाका साथ काम गर्ने जानकारी दिनुभयो ।
लामो समयदेखि चर्चामा रहे पनि कुनै पनि सरकारले सो नीतिका विषयमा काम नगरेको भन्दै सरोकार भएका पक्षले गुनासो गरिरहेको बेला मन्त्री पुनको यस्तो भनाइ आएको हो । मन्त्री पुनले जलस्रोत नीति ल्याउने र त्यसलाई कार्यान्वयन गर्ने विषय सामान्य नभएको समेत टिप्पणी गर्नुभयो ।
नेपालको राष्ट्रिय समृद्धि र एकताको आधारसमेत जलस्रोत भएकाले त्यसलाई एकीकृत गुरुयोजनाका आधारमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । जलस्रोतको विषय समृद्धिको आधार मात्रै भनेर बस्ने अवस्था नभएको भन्दै कार्यक्रम नै बनाएर लागू गर्नुपर्ने उहाँको भनाई थियो ।