काठमाडौं,५ चैत ।
चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा निर्माण भएको सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान भवन तोकेभन्दा ६ महिना छिटो निर्माण सम्पन्न भएकाे छ ।
उक्त भवनलाई एउटा चिनियाँ कम्पनीले निर्माण सम्झौता अवधिभन्दा पहिलै नै सकेर सरकारलाई हस्तान्तरण पनि गरेको छ ।
साढे दुई वर्ष अर्थात् ३० महिनामा सक्ने गरी सम्झौता भएको उक्त प्रशिक्षण प्रतिष्ठान भवनको दुई वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो । २०७२ साल बैशाख ३ गते चिनियाँ रेलवे कन्ट्रक्सनले निर्माण थालेको उक्त भवन २०७४ बैशाखमै तयार भएको थियो ।
निर्माण सकिएर २०७४ जेठ २ मा नै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा तत्कालिन गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच प्रशिक्षण प्रतिष्ठानको संरचना हस्तान्तरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यसबीचमा विभिन्न चरणमा निर्वाचन कार्यक्रम परेपछि औपराचिकरुपमा भवनको उद्घाटन हुन सकेको थिएन । सोमबार उक्त भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
भवन उद्घाटन गरेपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिएका छन् । ३० महिनामा निर्माण गर्ने सम्झौता भए पनि २४ महिनामै चाइना रेल्वे कन्ट्रक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरे ।
नेपाल र चीनबीच २०७१ मङ्सिर २६ गते निर्माणसम्बन्धी सम्झौता भएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा २०७१ पुस ११ गते प्रतिष्ठानको शिलान्यास गरेका थिए । निर्माण थालनी भने २०७२ बैशाखबाट भएको थियो ।
तीन सय १८ रोपनी क्षेत्रफलमा फैलिएको प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि चीन सरकारले तीन अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो । उक्त तालिम केन्द्रमा मुख्य शैक्षिक भवन, सभाकक्ष, कभर्ड हल, फुटबल मैदान, स्किमिङ पुल, जिम हल, हेलिप्याड, बास्केटबल कोर्ट र प्रशिक्षक तथा प्रशिक्षार्थी भवनलगायत संरचना छन्।