एजेन्सी , ४ चैत ।
साम्प्रदायिक दंगा भड्किएपछि श्रीलंकामा लगाइएको संकटकाल तत्कालका लागि हटाइएको छ ।
सिंहाली बुद्धिष्ट र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भड्किएपछि श्रीलंका सरकारले पहिलो पटक देशभर संकटकाल घोषणा गरेको थियो ।
बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि हिंसा भड्किएको थियो ।
हिंसाका क्रममा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापार व्यवसाय विरुद्ध आक्रमण समेत भएको थियो । हिंसामा परि केहीको मृत्यु हुनुका साथै सयौँ घाईते भएका छन् ।
श्रीलंकामा बौद्ध धर्मावलम्बी र मुस्लिम अल्पसंख्यकबीच सन् २०१२ देखि तनाव सुरु भएको हो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अहिले सुरक्षा व्यवस्था चुस्त एवं नियन्त्रणमा रहेको बताउनुभएको छ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिन्हेले सहरमा भएको हिंसा सुनियोजित तरिकाले भड्काइएको आरोप लगाउदै आउनुभएको छ । बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकामा ५ देखि ७ प्रतिशत मात्रै मुस्लिम छन् ।