काठमाडौँ, ३ चैत ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित सार्कको समृद्धिका लागि राजनीतिक र आर्थिक संम्मेलनमा उहाँले भारत र पाकिस्तानले मिलेर समस्याको समाधान गर्नुपर्ने बताउनु भयो ।
दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुकको हैसियतमा भारतले ज्यादा पहल कदमी लिनुपर्ने बताउँदै प्रचण्डले सार्क क्षेत्रलाई सक्रिय तुल्याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो ।
सार्कको अध्यक्षको हैसियतमा भारत र पाकिस्तानबीच देखिएका असहमतिलाई न्यूनीकरण गर्न नेपालले सक्दो पहल गरेको प्रचण्डको भनाई थियो ।
उहाँले पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीको नेपाल भ्रमणका अवसरमा आफूले सार्कलाई सही दिशा दिने विषयमा सकारात्मक विचार विमर्श भएको जानकारी दिनुभयो ।
क्षेत्रीय रुपमा भौतिक र विचारसहित एकीकृत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वले आर्थिक विकासमा सहयोग पु¥याउने भएकाले सार्कको बडापत्रमा उल्लेख भएका क्षेत्रीय उद्देश्यलाई पूरा गर्नु बताउनुभयो ।
यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी सल्लाहकार सल्मान एफ रहेमानले भारत र पाकिस्तान एवं पाकिस्तान र अफगानिस्तानबीच रही आएको असहमति नसुल्झिएसम्म सार्कले गति लिन नसक्ने भएकाले त्यसतर्फ सम्बन्धित देशको ध्यान जानुपर्ने बताउनुभयो ।
आइतबारसम्म चल्ने यस सम्मेलनमा सार्क सदस्य मुलुकका मन्त्री, आर्थिक क्षेत्रका जानकार, लगानीकर्ता, उद्योगी र पत्रकारसहित २०० भन्दा बढीको सहभागिता छ ।