काठमाडौ २६ फागुन ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा सभामुख चयनका लागि प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसुची रहेको छ ।
सभामुख पदका लागि वाम गठबन्धनका तर्फबाट उमेदवारी दिएका माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराको मात्र एकल उमेदवारी परेपछि उहाँ हिजो नै निर्विरोध चयन भइसक्नु भएको छ ।
तर प्रतिनिधिसभा कार्यसञ्चालन अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परेपनि प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने प्रावधान रहेकाले आजको बैठकमा सभामुखका लागि महराको प्रस्ताव पेश गर्ने तयारी भएको हो ।
आजको संसद बैठकले महरालाई सर्वसहमत निर्वाचित भएको घोषणा गर्ने संघिय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टाराईले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उमेदवारी नदिएपछि सभामुखका लागि महरा एकला उमेदवार बन्नु भएको हो । महराको प्रस्तावकमा एमाले नेता सुवास नेमवाङ र माओवादी केन्द्रका देव गुरुङ समर्थकमा हुनुहुन्छ ।