मासु पसलमा फोहर र झिँगा 

मासु पसलमा फोहर र झिँगा 

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

– सञ्चिता घिमिरे/ललितपुर, २२ फागुन ।
शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल पmोहर ठाउँमा रहेको पाइएको छ ।  जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा बेवास्ता गरेको पाइएको हो ।
बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताउनुभयो । एउटै पसलमा एउटाभन्दा बढी किसिमका मासु बेच्दा फरक ठाउँमा राख्नुपर्ने नियम छ । कतिपय मासु पसलले एउटै टेबुलमा राख्ने गरेको पाइएको छ ।
उहाँ भन्नुहुन्छ, “कतिपय मासु पसलले जानकारी नभएर र कतिले भएर पनि नियम पालना गरेका छैनन् ।”
जाली र सिसा राख्नुपर्ने व्यवस्था भए पनि कतिपय मासु पसलले त्यसको पालना गरेका छैनन् । मेलम्ची खानेपानीका लागि सडक खन्दा सडक धुलाम्मे छन् । अनुगमनका क्रममा अधिकांश मासु पसल सडक छेउमा र कतिपय चोकमा पाइएको साहले बताउनुभयो ।
“सडक छेउका मासु पसल वरपर फोहर मात्र देख्न सकिन्छ,” उहाँले भन्नुभयो । कम्तीमा १२ घण्टासम्म डिपफ्रिजमा राखेको मासु खानका लागि योग्य मानिन्छ । उक्त अवधिसम्म फ्रिजमा राख्दा मासुमा भएका ब्याक्टेरिया मर्ने साह बताउनुहुन्छ । धेरै उपभोक्ताले आलो मासु नै किन्न चाहने हुँदा डिपफ्रिजमा नराखी बेच्ने गरेका पसल सञ्चालकले अनुगमन टोलीलाई बताएका छन् ।
अघिल्ला वर्षहरूमा भन्दा फ्रिजको प्रयोग बढेको छ । उहाँ भन्नुहुन्छ, “बिहानदेखि साँझसम्म बिग्रन्छ भनेर पनि पसलेले फ्रिज प्रयोग गर्न थालेका छन् ।” अझै पनि फ्रिजमा राखेको भन्दा आलो मासु किन्न चाहने ग्राहकको सं्ख्या बढी छ । मासुलाई फ्रिज बाहिर राखिरहँदा ब्याक्टेरिया बढ्ने र गुणस्तर कम हुने भए पनि आमउपभोक्तालाई बुझाउन नसकिएको साह बताउनुहुन्छ ।
मासु पसल कतिपय दर्ता नै नभई सञ्चालनमा रहेका र कतिपय मिति नाघेर पनि नवीकरण नगरिएका पाइएको महानगरपालिकाका नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पसललेलाई दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौँ । कतिपय पसल व्यवस्थित बन्दै गए पनि पुस्तौँदेखि चलेका परम्परागत मासु पसलमा सुधार आएको छैन ।”
उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि राम गुरुङ अनुगमनका क्रममा कतिपय पसलेले फोहर भुइँमा फालेको पाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्राहकलाई आकर्षित गर्न मासु टेबुलमा पसल बाहिरसमेत राखेको पाइयो ।” उपभोक्तामा चेतनाको कमी रहेको गुरुङ बताउनुहुन्छ ।
“उपभोक्तलाई डिपफ्रिजमा राखेको मासुमात्रै किन्नुपर्छ भनेर बुझाउन सकिएको छैन,” उहाँले भन्नुभयो ।
कार्यालयले टोली बनाएर एक सातामा ६६ वटा मासु पसलको अनुगमन गरेको थियो । महानगरपालिकाको वडा नं १ देखि ६ सम्मका मासु पसलको अनुगमन गरिएको थियो । उपमहानगरपालिका हुँदासम्म यहाँका २२ वटा वडामा झण्डै ३०० वटा मासु पसल दर्ता भएर सञ्चालनमा थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ