एजेन्सी , १९ फागुन ।
केही दिनदेखि निरन्तर भइरहेको भारी हिमपात र हावाहुरीका कारण यूरोपको जनजिवन प्रभावित भएको छ । हालसम्म कम्तीमा ६० जनाको मृत्यु भइसकेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हिमपात र कठयाँग्रिने चिसोका कारण पोल्यान्ड, आयरल्यान्ड, स्लोभाकिया, चेक रिपब्लिक, लिथुवानिया फ्रान्स, बेलायत, सर्बिया, इटाली, स्लोभेनिया, रोमानिया, नेदरल्यान्डको जनजीवन प्रभावित भएको छ ।
हजारौं स्कुल तथा अस्पताल बन्द भएका छन् भने हवाई तथा सडक यातायात र रेल सेवा पनि नराम्ररी प्रभावित भएको छ ।
युरोपमा सबैभन्दा बढी पोलाण्न्ड र आयरल्यान्डको जनजीवन प्रभावित भएको रोयटर्सले जनाएको छ ।
पोल्यान्डमा मात्रै कम्तीमा २१ जनाको मृत्यु भईसकेको बीबीसीले जनाएको छ । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ ।
चिसोबाट बच्न जाँडरक्सी खाएर सुत्ने गरेका कारण धेरैको ज्यान गएको जनाइएको छ । आयरल्याण्डमा विद्युत अवरुद्ध हुँदा हजारै परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
स्टकल्याड, आयररुलयाण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ । खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।
साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो । केही क्षेत्रको मौसम सुधार हुन थाले पनि अझै केही दिन चिसो रहने अनुमान गरिएको छ ।